विश्व प्रेस स्वतन्त्रतामा नागरिक चासो

विश्व प्रेस स्वतन्त्रतामा नागरिक चासो


‘मेडिया फर डेमोक्रेसी’ को आवाजसँगै आज ३ मई विश्व प्रेस स्वतन्त्रता दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर सन् १९९३ पछि मनाउँदै आएको हो । सूचनालाई तोडमरोड हुन नदिन पत्रकारिताको निरन्तर खबरदारीलाई यसले जोड दिँदै आएको छ । नेतामा अहंकार पलायो भने सत्यानाश चाँडै नै देखिन थाल्दछ । त्यसैले, लोकतन्त्रमा फुकीफुकी पाइला चाल्न थाल्दा उसले लय समात्न थाल्दछ । विश्व प्रेस स्वतन्त्रता मनाउने क्रममा हरेक वर्ष द्वन्द्वरत देशमा कार्यरत धेरै पत्रकारहरूले ज्यान गुमाउन पुगेका छन । विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्र संघीय महासभाको घोषणासंगै यसलाई युनेस्कोले अनुमोदन गरेको थियो । पे्रस स्वतन्त्रता प्रजातान्त्रिक समाजका लागि महŒवपूर्ण रहेको छ । सबै राष्ट्रराज्यहरू सूचनाबाट नै बलियो बन्नपुगेको पाइन्छ । लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अनिवार्य आधार हो । मिडियाको स्वायत्ततामा कहिं कतैबाट हस्तक्षेप हुनपुग्यो भने त्यसले लोकतन्त्रलाई धरापमा पार्न सक्दछ । कृत्रिम वुद्धि अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा अहिले नेपालको पत्रकारिता जगतले निकै थोरै समयमा ठूलो फडको हानेको छ ।

कृत्रिम बुद्धि होसियार एजेन्ट समेत भएकोले अब कुनै दिन त्यस्तो समय पनि आउनेछ, जहाँ राजनीतिक विश्लेषण सोच्ने र विश्लेषण गर्ने काम अबका दिनमा मानिसले यस्तै संयन्त्रबाट सहयोग लिएर नगर्ला भनेर भन्न सकिन्न । कृत्रिम बुद्धि मेसिन र सफ्टवेयरको गोप्यताबाट विकसित भइरहेको अवस्थामा मेशिनको होसियारीले गर्दा मानिसको बुद्धिमा कतै खियालाग्ने त हैन ? मेशिन तीव्र रूपमा सक्षम बन्दै गइरहेको वर्तमान अवस्थामा प्रेसले कुन दिन शोधकर्ता द्वारा इलेक्ट्रोनिक मस्तिष्क बनाउने सम्भावनामाथि अग्रलेख नलेख्ला भन्न सकिन्न । नेपालको पत्रकारिताले मेशिन र मानवलाई जोडेर अहिलेसम्म लिएको छैन ।
प्रविधिबाट टाढा भएकोले नेपाली प्रेसका लागि इलेक्ट्रोनिक मस्तिष्क बनाउने सम्भावना टाढाको विषय बनेको छ । मेसिन मानिसभन्दा तीव्र बुद्धिमान बन्दै गएको तीतो यथार्थसँग अबका दिनमा प्रेसले अर्गानिक बुद्धिलाई कृत्रिम बुद्धिसँग कसरी हेर्ला ? मानिस सरह मेसिन बुद्धिमान बन्दै गएको परिप्रेक्ष्यमा प्रेसले मेसिनबाट हुने अनुवादलाई सही र गलत ठहर्याउन मेसिन रिडेबल प्रयोगमा आएपछि मात्र यसै भन्न सकिने छ । विगत केही समय यता प्राज्ञहरूले न्यायको बाटो छाड्दै गएका छन् । प्रविधिमाथिको अत्यधिक निर्भरताको कारण लोकतान्त्रिक राज्यले आफ्नै नागरिकहरूलाई समान व्यावहार गर्न सकेको छैन ।

दलको आवरणमा कित्ताकाट गरिएको छ । राज्यले नागरिकलाई सम्मान दिन नसके पनि असमानता किन थोपर्ने ? कानूनभन्दा माथि बस्ने धृष्टता किन गर्ने ? उदारवादमा कहिल्यै पनि अत्यधिक स्वतन्त्रताको नाममा व्यवस्थालाई धारासायी बनाउन सकिन्न । ‘हार्म’ प्रिन्सिपल अपनाएर कमजोरलाई संरक्षण गर्न सकिन्छ । आधुनिक लोकतान्त्रिक समाजमा कानूनको शासनबाट नै व्यक्तिलाई अनैतिक कार्य गर्नबाट रोक्न शासकलाई तानाशाह बन्न नदिन कर्मचारीलाई निष्पक्ष बन्न व्यापारीलाई नाफाखोर नबन्न र प्रेसलाई कसैको निन्दा वा प्रशंसाबाट अलग राख्न सकिन्छ ।

प्रेसले सरकारविरोधी जन्माउँछ भन्ने पुरानो मान्यतालाई बोकेर हिँडुन्जेल सरकार र पत्रकारिताबीच शत्रुतापूर्ण सम्बन्ध बनिरहन्छ । जब कुनै देशमा शासक विस्तारै निर्वाचनबाट आएर पनि बेनेभोलेन्ट डिक्टेटरसिपको मार्गमा अग्रसर हुन्छ, त्यस्तो देशका पत्रकारले राजनीतिप्रति कलम चलाए जेल नेल भोग्नुपर्ने हुनाले धेरै जसोले प्रणय, सेक्स, नैराश्य र असन्तुष्ट शासनव्यवस्थालाई प्रतिक बनाएर हँस्सी मजाकमा उत्रिएको पाइन्छ । सरकारको निरंकुशताविरुद्ध अधिकतम जनताको हित र स्वतन्त्रता रक्षाका लागि कानुनबमोजिम शासन गरिनुपर्ने धारणाले कानूनभन्दामाथि कोही नरहने धारणालाई यसले मान्यता दिएको छ ।

 

मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा १९ मा प्रत्येक व्यक्तिलाई विचार स्वतन्त्रताको अधिकार दिएको छ । स्वतन्त्र माध्यमविना लोकतन्त्र टिक्न नसक्ने र स्वतन्त्र रहने आधार बिना पत्रकारिता टिक्न नसक्ने कारणले गर्दा सञ्चार माध्यमको स्वतन्त्रता अहिलेको आवश्यकता हो । नेपालको संविधान २०७२ ले धारा १९ मा सञ्चारको हकमा विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृष्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाहगर्न वा छाप्न पूर्व प्रतिवन्ध लगाइने छैन बन्द, जफ्त वा दर्ता खारेजी वा त्यस्तो सामग्री जफ्त गरिने छैन कानुनबमोजिम बाहेक सञ्चार साधनलाई अवरुद्ध गरिने छैन समेत भनिएको अवस्थामा सन्चार माध्यमको स्वतन्त्रतालाई संविधानको मौलिक हकमै राखेर प्रत्याभूति दिएको अवस्थामा संविधानमा राम्रा कुराहरू राखिँदैमा पनि कार्यान्वयनमा जटिलता सरकारले भेट्टाउँदो रहेछ ।

शायद त्यसैले होला, सरकार अहिले सामाजिक सन्जालको केही साइटमाथि वक्र दृष्टि राख्दै छ । अमेरिकामा कांग्रेसले वाक र प्रकाशन स्वतन्त्रता घटाउने गरी कुनै कानून बनाउने छैन भनेको छ । नेपाली जनता आफूलाई विश्वकै उत्कृष्ट संविधानको दाबी गर्ने सरकार प्रेसप्रति विस्तारै अनुदार बन्दै जान थालेकोमा चिन्तित बन्दै गएको छ । वास्तवमा लोकतन्त्रमा शासन गर्नु भनेको नै सरकारको विचार जनतालाई प्रवाहित गराएर आफूलाई सरकार जनतामाझ लोकप्रिय बनाउनु हो । तर, विचारहरू यताको केही समयमा जनता र सरकारबीच फाटिन थालेको छ । आजको प्रतिस्पर्धात्मक अवस्थामा स्वीकृत हुने विचारको शक्ति नै सत्यताको मापन हो ।

अमेरिकी कांग्रेसले वाक तथा प्रकाशन स्वतन्त्रता घटाउने कुनै कानुन बनाउने छैन भनी स्पष्ट उल्लेख गरिदिएको छ । तर नेताहरू श्लील र अश्लीलको पूरा परिभाषा नभएको अवस्थामा बन्द समाजको नक्कल गर्दै सामाजिक सञ्जालमाथि खनिन पुगेका छन् । यथार्थमा मानिसले उचित ठहराएका कुराहरू बोल्न सकून् । पत्रपत्रिकामार्फत जनमत तैयार हुन सकोस् भन्ने उद्देश्यले वाक र प्रकाशनको रक्षागर्नु प्रत्येक निर्वाचित स्वतन्त्र सरकारको निमित्तआवश्यक छ । हालैका दिनमा सरकार सबै काम गोप्य गर्न चाहँदै छ । लोकतन्त्रमा जनता यस्तो गोप्यता मन पराउँदैनन् । न्युयोर्क टाइम्सविरुद्ध अमेरिकी सरकारको सन् १९७१ को मुद्दामा अमेरिकी गोप्यनीति सूचनाको अधिकारका सम्बन्धमा सरकारको कामकार्वाही गोप्यरहनु मूलभूत रुपमा लोकतन्त्रविपरीत हो भनिदिएको निर्णयलाई विकाशोन्मुख देशका पत्रिकाहरूले आफ्ना सन्दर्भमा के ठानेका छन् भने निषेध नगरिएसम्म कार्यालयका ती अभिलेखहरू सार्वजनिक नै हुनेछन् ।

नेपालको पत्रकारिताले बेलाबखत मिसन पत्रकारिता गरेर एक व्यक्तिको खैरो खनिएपछि त्यसलाई पदबाट ननिकालेसम्म उछित्तो काढिरहन्छ । यसमा विशेषगरी टाइकुन र बिगहाउसबाट सन्चालित मिडियाहरू चर्चित रहेका छन् । आफैंले सत्तामा पुर्याउन सहयोग गरेको सरकारका विरुद्ध आलोचना र प्रत्यालोचना निकै कम देखिन्छ । वामपन्थी न प्रजातान्त्रिक इतिहासको कालखण्डमा हरेक समर्थक पत्रिकाले आफ्नो सरकारको गल्तीलाई आलोचना गर्नु हैन भन्दै यदाकदा पन्छिएको पाइन्छ । उनीहरू सरकारको उत्साह बढाउनु र प्रशंसा गर्नमा नै आफ्नो समय खर्चिएका छन् ।

राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारमाथि सरकारले जबजब कैंची चलाउन पुग्दछ, त्यस्तो अवस्थामा प्रेस जगत उदारवादी शासनको पक्षमा एक हुन सकेन भने स्थितिले अर्कै रूप लिन सक्दछ । प्रेस स्वतन्त्रता कुण्ठित हुनपुग्दा बिस्तारै त्यसले विस्फोटनको स्थिति निम्त्याउन सक्छ । व्यावसायिक प्रतिस्पर्धा र जिम्मेवारी निर्वाह गर्नुपर्ने पत्रकारिताले आस्था र विचार बोकेर हिंड्ने हो भने प्रेस स्वतन्त्रता र पत्रकारिताको व्यावसायिकतामाथि प्रश्न चिह्न नलाग्ला भनेर भन्न सकिन्न ? चौथो अंगको सम्मान पाएको पत्रकारिताले विगतमा नेपाली कांग्रेसका नेताकार्यकर्ता, एमाले तथा राप्रपाका कार्यकर्ताको हत्याहिंसा आक्रमणलाई जनकारवाही गरेको सफाया गरेको भन्दै प्रेसले नै औचित्यको बखान गरेको थियो । त्यसैले अबका दिनमा त्यस्तो फौजदारी अपराध मानिने कार्यलाई दुरुत्साहन दिन सुहाउन्न । अराजक हिंसा र आतंकवादी कार्यलाई प्रेसले प्रोत्साहन र प्रेरणा हैन, ब्रह्म इन्साफ देखाउन सक्नुपर्दछ ।
मानवीय मूल्य र लोकतान्त्रिक संस्कार वर्तमान समयमा अपरिहार्य देखिन्छ । २०१७ सालको मानसिकताले २०७६ साललाई कसैले निर्देशन गर्न सक्दैन । विश्व प्रेस स्वतन्त्रतामा नागरिकको चासो जीवन, स्वतन्त्रता र सम्पत्तिको अधिकार कसैले पनि थुत्न नसकोस् ।