भरतपुर महानगर मिडिया नियन्त्रणमा सक्रिय

भरतपुर महानगर मिडिया नियन्त्रणमा सक्रिय


भरतपुर महानगरपालिकाले पारित गरेको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिप्रति नेपाल पत्रकार महासंघ चितवनले असहमति जनाएको छ । नगरसभाले पारित गरेका विधेयक तथा पुरक बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकार महासंघले कार्यविधि नियन्त्रणमुखी रहेको आरोप लगाएको छ । १ सय वाट क्षमताका एफएम रेडियोलाई इजाजतपत्र दिने, नवीकरण गर्ने तथा खारेज गर्नसक्ने गरी कार्यविधि बनाइएको छ । सञ्चालनमा रहेका रेडियोले भने नयाँ इजाजत लिइरहनुपर्ने छैन ।
पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले प्रेस स्वतन्त्रता विरोधी कार्यविधि स्वीकार नभएको बताए । “प्रकाशन–प्रशारण भएका विषयमा उजुरी गर्न मिल्छ, तर यहीलाई बहाना बनाएर रेडियो नै बन्द गर्न मिल्दैन,” उनले भने, “शाही शासनकालको ढाँचाको कार्यविधि ल्याइएको छ ।” उनले सरकारले बनाएको नमुना कानुनको आधारमा रहेर बनेको कार्यविधिले मिडियालाई नियन्त्रण गर्ने जोखिम बढेको बताए । “कार्यविधिका २४ बुँदाहरुमा हाम्रो असहमति छ,” उनले भने, “स्थानीय तहका कामलाई मिडियाले निगरानी बढाउन थालेपछि नियन्त्रण गर्न खोजिएको जस्तो छ ।” उनले कार्यविधिमा दफावर छलफलबिनै पारित भएको अनुभूति भएको दाबी गरे ।
“ड्राफ्ट नै हेरेर बुँदाहरु सच्याउन आग्रह गरेका थियौँ । हतार गरेर पारित भएको छ, यसले विवाद रोप्ने काम गरेको छ,” उनले भने । समन्वय तथा अनुगमन समिति एकपक्षीय बनाइएको भन्दै सञ्चार विज्ञका रुपमा २ जना प्रतिनिधि समावेश गरिनुपर्ने उनले बताए । कार्यविधिको १३ नम्बर बुँदामा ‘आवश्यक देखेको अन्य कार्यहरु गर्ने’ वाक्यले मिडियालाई बन्देज लगाउन सक्ने अवस्था सृजना भएको दाबी उनले गरे । उनले प्रशारण भएका विषयमा चित्त नबुझेमा गुनासो गर्न मिल्ने अवस्था भएपनि कार्यविधिमार्फत् नियन्त्रणमा लिन खोजिएको बताए । 
महासंघ चितवनले मंगलबार नै बैठक बसेर कार्यविधि स्वीकार्न नसकिने निर्णय गरेको छ । चितवनमा हाल १६ वटा एफएम रेडियो सञ्चालनमा छन् । मेयर रेणु दाहालले गत वर्षकै कार्यपालिका बैठकले निर्णय गरिसकेकाले तेस्रो नगरसभाबाट कार्यविधि पारित भएको बताइन् । “पत्रकार महासंघले सुझाव दिएकै हो, संवाद पनि गरेका हौँ,” उनले भनिन्, “तर, कार्यविधि पारित गर्नुपर्ने नै थियो, तर आवश्यक सुझावसहित परिमार्जन गर्न तयार छौँ ।” 
स्थानीय सरकारलाई मिडियाको सहयोग अपरिहार्य भएकाले सहकार्य र विकास गर्न महानगर लचक हुन तयार रहेको उनले बताइन् । महानगरले एफएम रेडियो सञ्चालन कार्यविधिसहित जनप्रतिनिधिको आचारसंहिता, विपद् व्यवस्थापन सम्बन्धि ऐन, तीनपाङ्ग्रे सवारी साधन दर्ता तथा शुल्क निर्धारण कार्यविधि पारित गरेको छ ।